शिक्षा व्याकरणं छन्दो निरुक्तं ज्योतिषं तथा ।
कल्पश्चेति षडङ्गानि वेदस्याहुर्मनीषिणः।।
यसरी शिक्षा, व्याकरण, छन्द, निरुक्त, ज्योतिष र कल्प गरि वेदका ६ अंगहरु हुन्छन् ।
वेदका ६ अंगहरु मध्ये कुन अङ्गले कुन विषयलाई प्रकाश पारेको छ त भन्दा; श्री पराशरभट्टर स्वामी आज्ञा गर्नुहुन्छ,
“शिक्षायां वर्णशिक्षा पदसमधिगमो व्याक्रिया निर्वचोभ्याम्, छन्दश्छन्दश्चितौ स्याद्गमयति समयं ज्योतिषं रङ्गनाथ।कल्पेsनुष्ठानमुक्तं ह्युचितगमितयो-र्न्यायमीमासयोस्स्यात्, अर्थव्यक्तिः पुराणस्मृतिषु तदनुगास्त्वां विचिन्वन्ति वेदाः।।”
हे रङ्गनाथ भगवन् ! शिक्षा नामक वेदाङ्गमा वर्णको उच्चारण प्रकृया अर्थात् अच् वर्ण, हल् वर्णहरुको उच्चारण र परस्परमा संयोजन प्रकृयाको वर्णन पाइन्छ। एवं व्याकरणमा प्रकृति र प्रत्ययको विभागद्वारा शब्द व्युत्पादनको वर्णन पाइन्छ। यस्तै निरुक्तमापनि सामान्यतया पद-पदार्थको विवेक पाइन्छ। छन्दशास्त्रमा छन्द विचिति गायत्रि, उष्णिक्, अनुष्टुप् आदि छन्दको वर्णन् पाइन्छ।
साथै ज्योतिषाङ्गमा सत्कर्मानुष्ठानमा समयको निर्धारण “शरदि वाजपेयेन यजेत”, “वसन्ते ज्योतिषा यजेत” अर्थात् वाजपेय यज्ञगर्नेले शरद ऋतुमा नै गर्नु पर्दछ एवं ज्योतिष्टोम यज्ञ गर्नेले वसन्त ऋतुमा नै गर्नु पर्दछ, इत्यादि विधान पाइन्छ। एवं कल्शास्ररुप वेदाङ्गमा आश्वलायन आपस्तम्ब आदि द्वारा वर्णित वैदिक कर्मानुष्ठानको विधि वताइन्छ।
यसरी वेदमा उचित रुपमा प्राप्त(रचना) न्याय पूर्वोत्तर मीमांसाशास्त्र र स्मृति इतिहास पुराणहरुद्वारा वेदार्थको निर्णय गरिन्छ।
यसरी समग्र अंगसहित वेदले विमर्श गर्दै भगवत्स्वरुपको निर्णय गरेकाछन्।
अस्तु तावत्।